२०८३ कार्तिक १२ गते बुधबार

नक्कली शरणार्थी मुद्दा कमजोर बनाउन प्रयास!

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २१
sandeep rayamajhi
नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पक्राउ परेका एमाले सचिव टोपमबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ जिल्ला अदालतमा लगिँदै।

काठमाडौँ- नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्च रची ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीबाट प्रतिव्यक्ति ५० लाखसम्म असुली गरेको सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। यो प्रकरणमा राजनीतिक तथा प्रशासनिक वृत्तका हाइप्रोफाइलहरू अनुसन्धानमा तानिएका छन्।

नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग गृह प्रशासन मुछिएको छ। भूटानी शरणार्थीको प्रमाणीकरणका लागि गृह मन्त्रालयले २०७६ वैशाखमा बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। हालसम्म सार्वजनिक नगरिएको कार्यदलको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै ठगी भएको पाइएको छ। यसरी उक्त प्रतिवेदनमा नाम थपी अमेरिका पठाइदिन भन्दै झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको विषय अहिले तन्किँदै गएर उच्च प्रशासनिक र राजनीतिक तहसम्म पुगेको हो।

यही प्रकणमा नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार अर्घाखाँचीमा एक विद्यालयको कार्यक्रम विशेष अतिथि बनेर टोपबहादुर पुगेका बेला काठमाडौँमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। अर्घाखाँचीमा सहभागी कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथि बनेर पुगेका थिए।

नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने गिरोह सक्रिय रहेका बेला एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री थिए। बादल गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई पनि यही गिरोहसँग संलग्न भएको आरोपमा पक्राउ परेका छन्। राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसेको छ। मंगलबार बिहान पक्राउ परेका इन्द्रजितसँगै छोरा निरजलाई पनि पक्राउ गर्ने तयारी प्रहरीले गरेको थियो। तर निरज हालसम्म फरार छन्। प्रहरी परिसर टेकुमा राखिएका राईसमेतले विभिन्न चरणमा ५ करोड रुपैयाँभन्दा बढी रकम आफूहरूबाट लिएको पक्राउ परेकाहरूले बयान दिएपछि राई पक्राउ परेका हुन्।

यसै प्रकरणमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक थापासमेत मुछिएका छन्। यही अपराधमा संलग्न भएको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

एमाले सचिव रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन्। उनलाई तीन दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएका रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो।

पक्राउ पर्नेमा राजनीतिक नेतृत्व मात्र जोडिएको छैन। तत्कालीन गृहसचिव (हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत भएपनि निलम्बनमा परेका) टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

‍प्रकरणमा सन्देश शर्मा (दाङ), केशव दुलाल (मोरङ), सागर राई (मोरङ), सानु भण्डारी (ललितपुर) र कुमार गुरुङ (पाँचथर) पक्राउ परिसकेका छन्। भण्डारीले तत्कालीन ऊर्जामन्त्री तथा एमाले सचिव रायमाझीको सचिवालयमा काम गरेका थिए। सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला दुलालले उनको निजी सचिवालयमा काम गरेका थिए।

एमालेको दबाब
नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाउने गिरोहमा आफ्नो दलका पदाधिकारीहरु नै मुछिएपछि नेकपा एमालेले भने राजनीतिक प्रतिशोध साँध्न खोजिएको टिप्पणी गर्न थालेको छ। एमालेका सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको र उपाध्यक्ष बादलसमेत मुछिन सक्नेका साथै रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेको र बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएपछि एमालेले आफूहरूविरुद्ध षड्यन्त्र भएको बताउन थालिसकेको छ।

आफूलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी भरेपछि बुधबार दिउँसो रायमाझीले दलालहरूले आफूलाई फसाउन खोजेको टिप्पणी गरेका थिए। यद्यपि प्रहरी अनुसन्धानलाई सघाउने जिकिर गरेका उनी यतिबेला फरार रहेको बताइएको छ।

आफ्नो दलका केन्द्रीय पदाधिकारी नै मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको भनिएपनि आफ्नो दलका उपाध्यक्ष र सचिव तथा तिनको परिवारका विषयमा ओलीले चासो राखेको प्रधानमन्त्री सचिवालयको भनाइ छ।

‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन,’  प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने जिकिर गर्दै भने, ‘यो तानिएको हो कि तनाएको हो, हामी अध्ययन गर्दैछौं। अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौं।’

अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजे पार्टीले नसहने पनि चेतावनी दिए। ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। दोषीलाई फसाउन खोजियो भने हामी सहन्नौं,’ ओलीले भने।

प्रहरीले हिजो मात्रै एमालेका सचिव टोपबहादुर रायामाझीलाई पक्राउ पुर्जी जारी गरेको छ। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभमा रकम असुलेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको छ।

ओली र प्रधानमन्त्रीबीच भेटवार्ता हुनुअघि नै सचिव रायमाझी पक्राउ परेको भनिएको थियो। बिहान भैरहवाबाट पक्राउ परेका भनिएका रायमाझीसँग सम्पर्क नभएको प्रहरीले बताएको छ। बिहान पक्राउ परेको भनिएका रायमाझी कसरी फेरि फरार भए भन्ने विषय शंकास्पद छ।

नेकपा एमालेका नेता विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने टिप्पणी गरेका छन्। कानुनभन्दा माथि कोही पनि नहुने भनेका उनले घटनालाई राजनीति रूप दिन नहुने बताएका छन्।

‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन्। उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन्, कोही दोषी नउम्किउन्। छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ। यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ,’ उनले लेखेका छन्।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा कोही पनि दोषी उम्कन नपाउने बताएका छन्। आफूले प्रहरी प्रशासनलाई दोषी जति नै शक्तिशाली वा पहुँचवाला भए पनि नछोड्न निर्देशन दिएको उनको भनाइ छ।

‘दोषी जति नै शक्तिशाली भएपनि नउम्किउन् भनेर मैले प्रहरीलाई निर्देशन दिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने। यो प्रकरणमा सुरक्षा निकायले चनाखो भएर काम गरिरहेको उनले बताए।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रसंशनीय रहेको बताएका छन्। यो प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको बताएका थापाले यो घटना मात्र नभएर प्रवृत्ति भएको बताएका छन्।

‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ,’ उनले भनेका छन्, ‘यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन्। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।’

१०६ जनाले दिए उजुरी
पीडितहरूले आफूहरूलाई ठगी गरेको भन्दै अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि लामो अनुसन्धानपछि प्रहरीले दुलाललगायतलाई पक्राउ गरेको थियो। कार्यालयले पक्राउ गरेर थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। परिसरले पछिल्लो समय संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ।

२०७९ चैत २९ गते यही घटनामा संलग्न रहेको आशंकामा सन्देश शर्मा र सागर राईलाई प्रहरीले पक्राउ परे। उनीहरूले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै प्रत्येक व्यक्तिबाट ५ देखि ४५ लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। अनुसन्धानका संलग्न प्रहरी अधिकारीका अनुसार गिरोहका मानिसहरूले नेपालीहरूलाई नक्कली शरणार्थी बनाउन फारम नै भराएर पैसा उठाएका थिए। उनीहरूले तीन तहमा रहेर यो काम गरेका थिए।

‘मान्छेहरूसँग कुरा गर्ने, निवेदन दर्ता गराउने, रकम असुल्नेलगायत काम एक तहमा बसेकाले गर्थे भने दोस्रो तहमा केशव दुलाल, सानु भट्टराई लगायतको भूमिका देखिन्छ। उनीहरूले बीचमा बसेर मिलाउने गर्थे,’ ती अधिकारीले भनेका छन्,‘तेस्रो तहमा भने त्यतिबेला गृह मन्त्रालयमै रहेका व्यक्तिहरूको भूमिका रहेको देखिएको छ।’

यो प्रकरणमा प्रहरीले हालसम्म ८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।

प्रहरीका अनुसार यो प्रकरणमा हालसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको दाबी गरेका छन्।

काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइसकेका छैनन्। हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी छ।

गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ। यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो।

‘अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने।

गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ। गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए।

गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए। विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए।

गिरोहले पत्रपत्रिका र अनलाइनमा आएका फोटो, समाचार तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीको सरुवासम्बन्धी समाचार पीडित समक्ष सेयर गरी विश्वास बटुल्ने गरेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उतिबेलै बताएका थिए।

पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ।

उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै आठ करोड बराबरको चेक समेत दिएका थिए। उनीहरुले यसरी उठाइएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ।

प्रकाशित: २०८० बैशाख २१ गते बिहिबार ०६:४८
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना