काठमाडौँ- भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल २०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भारत प्रस्थान गरेका छन्।
एक सय ३३औँ संस्करणको उक्त फुटबल प्रतियोगितामा सहभागी हुन प्रस्थान गरेको उक्त टोलीमा पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाशप्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वमा त्रिभुवन आर्मी क्लबका खेलाडी तथा अधिकारी गरी ४२ जना सम्मिलित छन्।
साउन ११ गतेदेखि भदौ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतको ‘ए लेभल’ फुटबल क्लबहरूसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ।
एशियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कप नेपाल आर्मीले दोस्रो पटक खेल्ने भएको हो।
डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआईआईएफ)को आयोजनामा हुने प्रतियोगितामा २७ वर्षपछि गत वर्षदेखि विदेशी टिमलाई सहभागी गराउन लागिएको हो। डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो।
१३३ औं संस्करणले भारतीय लगायतका २४ टोलीहरुले प्रतिस्पर्धा गर्ने छन्। नेपालबाट त्रिभुवन आर्मी क्लबले भाग लिएको छ।
प्रकाशित: २०८१ साउन १४ गते सोमबार ०७:५६