काठमाडौँ– नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ।
काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा नेपालले भारतमाथि जित निकालेको हो।
भारतलाई ३-२ को सेटमा नेपालले पराजित गरेको हो। महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो।
नेपाली टिमका स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शन गरेका थिए।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको खेलको पहिलो सेट नेपालले सहजै २५–१८ ले सहजै आफ्नो पक्षमा पार्यो।
दोस्रो सेटमा भने नेपालको प्रदर्शन फितलो बन्यो। दोस्रो सेट नेपालले १२–२५ ले सहजै गुमाउन पुग्यो। तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५–१७ ले सहजै जित निकाल्यो।
प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो। पाँचौँ सेटमा १५–१३ को सेटमा जित निकाल्दै भारतमाथि ऐतिहासिक जित निकाल्न सफल भयो।
यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ। तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ।
च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको छ।
शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्।
यसअघिका भेटमा नेपालले भारतमाथि जित निकाल्न सकेको थिएन।
सन् २०१९ मा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वञ्चित बनेको थियो।
गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो।
