काठमाडौँ- पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन्। सोमबार राति भएको सेमिफाइनलमा जित हात पार्दै दुई टोली फाइनलमा पुगेका हुन्।
स्पेनले पहिलो सेमिफाइनलमा मोरक्कोमाथि २–१ को पुनरागमन जित निकाल्यो।
खेलको ३७औं मिनेटमा साउफिएन राहिमीले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। तर पर्मिन लोपेजले उत्कृष्ट प्रदर्शनमा स्पेनले दोस्रो हाफमा दुई गोल फर्कायो।
फर्मिनले ६६औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरे। त्यसपछि पर्मिनकै पासमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुवानलु सान्चेजले ८५औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यही गोल निर्णायक बन्दा स्पेन २–१ ले विजयी भयो।
अर्को सेमिफाइनलमा आयोजक फ्रान्सले पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई अतिरिक्त समयमा ३–१ हरायो। निर्धारित समयमको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो।
खेलमा इजिप्टले पहिले अग्रता लिए पनि कायम राख्न सकेन। ६२औं मिनेटमा महमउद साबेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। तर ८३औं मिनेटमा जिन फिलिप माटेटाले माइकल ओलिसको पासमा फ्रान्सका लागि बराबरी गोल गरे।
निर्धारित ९० मिनेट बराबरी भएपछि खेलमा ३० मिनेटमा अतिरिक्त समयमा थप गरियो।
अतिरिक्त समयमको दोस्रो मिनेटमै इजिप्टका ओमार फायद रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इजिप्ट दश खेलाडीमा समेटियो। ट्ट्यसको फाइदा फ्रान्सले उठायो। फ्रान्सका लागि माटेटाले ९९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को अग्रता दिलाए।
माइकल ओलिसले १०८औं मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरे।
