काठमाडौँ- बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ५ जनाकै मृत्यु भएको छ।
दिउँसो बुधबार १:१४ बजे त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको हेलिकोप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा पाँचै जनाको मृत्यु भएको नुवाकोट प्रहरीले जानकारी दिएको छ।
मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन्। हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी जाँदै थिए।
मृत्यु हुनेमा चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन्। एयर डाइनेस्टीका अनुसार ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने योजना थियो।
काठमाडौँबाट रसुवाका लागि उडेको हेलिकोप्टर उडान सुरु गरेको तीन मिनेटमा नै सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
दुर्घटनाको खबर आउनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभु एयरको हेलिकोप्टर परिचालन गरिएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे घटनास्थलतर्फ पुगेका थिए।
