सुर्खेत- वीरेन्द्रनगरबाट करिब १० मिनेटको दुरीमा रहेको काँक्रेविहार उपत्यकाको सबैभन्दा उचाइ र शान्त वातावरणमा रहेको स्थान हो। सुर्खेतको कोलाहल छल्न र शाक्त वातावरणको आनन्द लिन आजभोलि मानिस यहाँ पुग्ने गरेका छन्।
भग्नावशेषकै रूपमा रहेको बेला विसं २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण पश्चात् सो विहारको महत्त्व बढेको देखिन्छ। २०७५ मा मात्र यसको पुनर्निर्माण गरिएको थियो।
काँक्रेविहारको ऐतिहासिक र पुरातात्त्विक पक्षको भने अझै गहन अध्ययन, अनुसन्धान र अन्वेषणको आवश्यकता देखिन्छ। विहारको निर्माण १३औँ शताब्दीतिर भएको अनुमान गरिएको छ। केही तथ्यहरूले सिञ्जा साम्राज्यका राजा अशोक मल्लले विसं १३२५ मा काँक्रेविहार निर्माण गरेका हुन सक्ने देखाएका छन्।
उपत्यकाको उँचो भागमा शिखर शैलीमा रहेको यो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ।
ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको काँक्रेविहार कर्णाली प्रदेशकै एक उत्कृष्ट पर्यटकीय स्थलको रूपमा रहेता पनि यसको उचित प्रचार प्रसारको भने हुन सकेको छैन।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


