काठमाडौं– दार्चुलाको व्यास गाउँपालिका–१ भोलेनको हिउँपहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव शुक्रबार बेलुकी ६ बजे सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। हिमपहिरोमा परेका दुई जना अझै बेपत्ता छन्।
हिमपहिरोमा परेर ज्यान गुमाएका दार्चुलाकै दुहँ गाउँपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर, उनकी आमा ३६ वर्षीया कमला कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव सडक मार्गबाट सदरमुकाम दार्चुला ल्याइएको हो।
ती शव गत बुधबारै फेला परे पनि सडक मार्गबाट ल्याउँदा ढिलाइ भएको हो। भारततर्फको गर्भाधार सडकमा ठूलो पहिरो जाँदा पाँच घन्टा ढिलो भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले बताए। मृतकको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइनेछ । उनीहरूका आफन्त सदरमुकाममा आइसकेको प्रहरीले जनाएको छ।
पहिरोमा हराएको भनिएकामध्ये दुहुँ गाउँपालिका–४ पोक्सेकी ३६ वर्षीया कलावती कार्की, १८ वर्षीय अर्जुन कार्की, डोटी जोरायल गाउँपालिका–२ बुडरका ३६ वर्षीय फुर्पा थापा, डोटीकै २६ वर्षीय छप्तेन थापा , २६ वर्षीय पासाङ छुम्तेल विष्ट, ३१ वर्षीय थुतेङ थापा, हुम्ला जिल्ला लाखा गाउँपालिका–५ का २० वर्षीय लाक्या ग्याल्बु तामाङ र दार्चुला नौगाड गाउँपालिका–२ दल्लेखका ५० वर्षीय ललितसिंह विष्ट भने मंलबार बेलुकी सम्पर्कमा आएका थिए।


