२०८३ साउन १३ गते बुधबार

अब हात्तीमैत्री बाहुनडाँगी

 |  चन्द्रकला भण्डारी
Sanket

चन्द्रकला भण्डारी

काठमाडौँ, साउन ३२
elephant

झापा- तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन। उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन।

‘भारततिरबाट हुल बाँधेर हात्ती गाउँ पसेपछि कुकुर भुक्न थाल्थे,’ तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष समेत रहनुु भएको तिवारीले सुनाए–’हामी चाहिँ बाँसको भाटामा पाटा बेरेर बनाइएको पुल्ठो मट्टितेलमा चोबेर राँको बनाउँथ्यौं र सिठी फुकेर हात्तीको हुललाई पछाडिबाट धपाउँथ्यौं।’

गाउँका मानिस रातभर अनिदो बसेर हात्ती धपाउन खटिन्थे। एउटा बस्तीमा हात्ती पसेको हल्ला फैलिएपछि अर्को गाउँका मानिसले हात्ती छेक्न घर र सडक छेउमा परालको आगो बाल्थे। गाउँका महिला हात्ती धपाउन घण्टी बजाउँदै अगरबत्ती बालेर पूजापाठ गर्न थाल्थे भने भने पुरुषहरु शङ्खध्वनी गुञ्जाउँथे। थोत्रे टिन, घण्टी सिठीको चर्को आवाज सुनेर हात्ती गाउँबाट भाग्थे। आगोको छेउछाउ नआउने हात्ती पुल्ठो बालेपछि तर्किएर जान्थे।

हात्ती कतातिर जाँदैछन् भनेर चियो गर्न स्थानीयबासीले विभिन्न गौडाहरुमा अग्ला अग्ला मचान (टुङ) बनाउन थाले। सरकारले नै पक्की मचान बनाउन सहयोग दिन थाल्यो। पुराना मचानहरु बाहुनडाँगीको मेची किनारमा अहिले पनि छन्।

समय क्रममा हात्ती धपाउने शैलीहरु बदलिए। तिवारीकै अनुभवमा टिनको आवाज र पुल्ठोको आगोसँग हात्ती डराउन छाड्यो। त्यसपछि हात्तीलाई धपाउन पटाका पड्काउन थालियो। बन्दुक पड्काउँदा महँगो र सरकारी अनुमति नपाइने हुँदा गाउँलेहरुले हात्ती धपाउन भारतबाट पटाका किनेर ल्याउन थाले। ‘बन्दुक पड्काउँदा हात्ती भाग्ने भएकाले हामीले तर्साउनका लागि ठूला आवाज दिने पटाकाको सहारा लियौं,’ तिवारीले भने–’मान्छेहरुले जे उपाय लगाए पनि विस्तारै हात्तीहरु त्यसैमा अभ्यस्त हुन थाले। पटाका पड्काउँदा पनि भाग्न छाडेपछि अर्कै उपाय खोज्न बाध्य हुनुपर्यो।’

बुद्धिमान प्राणी भएकाले हात्तीले अस्तित्व रक्षाका लागि परिस्थितिको सामना गर्ने उपाय निकाल्दोरहेछ रहेछ भन्ने मानिसहरुले बुझे। मेचीनगर नगरपालिका–४ का निरज घिमिरे भन्छन्–’झापामा वर्षौदेखि मानव र हात्तीबीचको लखेट्याई खेल चलिरहेको छ। मानिसले हात्ती धपाउन निकालेका हरेक जुक्तिहरु केही वर्षको अन्तरालपछि निष्तेज हुने गरेको छ।’

भारतको पश्चिम बंगालस्थित विभिन्न आरक्षित जङ्गलबाट नेपाल प्रवेश गर्ने हात्तीको मुख्य गौडा नै बाहुनडाँगी हो। बाहुनडाँगीबाट प्रवेश गरेका हात्तीहरु झापाको सबैजसो क्षेत्रमा डुल्ने र क्षति पुर्याउने गर्छन्। कयौं पुस्तादेखि जंगली हात्तीहरु भारतको आसाम, पश्चिम बंगाल र नेपालको कोशी प्रदेशमा विचरण गर्दै आएका छन्।

तीस वर्षमा हात्ती र मानवबीचको द्वन्द्वको अवस्था झन् बढेर गएको छ। उसबेला झापाको बाहुनडाँगी मात्र हात्तीको निशानामा थियो। अहिले जिल्लाका १५ वटै पालिकामा हात्तीले जनधनको क्षति पु¥याउने गरेको छ। मोरङ र सुनसरी जिल्लामा केही वर्षयता हात्तीले पुर्याएको क्षति कहालिलाग्दो छ।

डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार हात्तीको आक्रमणमा परी २०६७ देखि हालसम्म १५ वर्षको अवधिमा ६७ जनाको मृत्यु भएको छ। सोही अवधिमा २१ वटा हात्ती समेत मारिएका छन्। जनधनको क्षति रोक्नका लागि अनेकन उपाय अवलम्बन गरिएका छन्।

भारतबाट हात्ती पस्ने मुख्य गौंडाको रुपमा चिनिएको साविक बाहुनडाँगी अर्थात अहिलेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की अब मानव र हात्तीबीच द्वन्द्वलाई सहअस्तित्वको माध्यमबाट समाधान गर्नुपर्ने बेला आएको बताउँछन्।

‘जङ्गली बासस्थान र आहारको प्राकृतिक स्रोत मासिदै गएपछि हात्तीहरु मान्छेको बस्ती र खेतबालीमा पस्न थालेका हुन् भने आफ्नो आवास र उत्पादनमाथि धावा बोल्न थालेपछि मान्छेले पनि हात्तीलाई मार्नेसम्मको गतिविधि गरेका हुन्,’ वडाध्यक्ष कार्की भन्छन्–’अब पुरानो सोचबाट यो अस्तित्वको लडाई समाप्त हुँदैन। हात्ती त जनावर भयो। कसरी सहअस्तित्व कायम गर्ने भन्ने उपाय खोज्ने काम चेतनशील मानिसको जिम्मेवारी हो।’

मानिसले हात्तीसँग झडपमा उत्रिने स्थितिको अन्त्य गर्दै हात्तीमैत्री नीति र कार्यक्रम अघि सार्नुपर्ने उनको धारणा छ। केही वर्षदेखि बाहुनडाँगीमा उनकै नेतृत्वमा प्रकृति संरक्षण, हात्ती धपाउन आधुनिक प्रविधिको प्रयोग र बिमामार्फत बाली क्षतिपूर्तिको व्यवस्थाका विभिन्न आशलाग्दा कार्यक्रमहरु सञ्चालन भइरहेका छन्।

हात्तीलाई पर्यटनसँग जोड्नका लागि मेची नदीको मुख्य गौडाहरुमा हात्तीको आहार हुने बोटविरुवा हुर्काउने प्रकृति पार्क निर्माण गरिएको छ। बाहुनडाँगीमा जीपीएस प्रविधिमार्फत हात्ती प्रवेश गरेको सूचना दिने अत्याधुनिक प्रणाली जडान गरिनुका साथै साइरन बज्ने व्यवस्था मिलाइएको उनले बताए।

भारतबाट हात्ती पस्ने मुख्य गौंडाको रुपमा चिनिएको साविक बाहुनडाँगी अर्थात अहिलेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की अब मानव र हात्तीबीच द्वन्द्वलाई सहअस्तित्वको माध्यमबाट समाधान गर्नुपर्ने बेला आएको बताउँछन्।

हात्तीको प्रवेश रोक्न बाहुनडाँगीको १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएको छ। हात्तीको निगरानी गर्ने र स्थानीयबासीलाई सुरक्षा दिनका लागि आरआरटी नामक युवा दस्ता परिचालन गरिएको छ।

‘किसानहरुले लगाएको खेतीबालीमा हात्तीले नोक्सानी गरेमा त्यसको क्षतिपूर्ति दिलाउन हामीले बिमाको व्यवस्था मिलाउँदैछौं,’ वडाध्यक्ष कार्की भन्छन्–’धान, मकै, तरकारी लगायतका बाली हात्तीले खाँदा क्षतिपूर्ति पाउने भएपछि किसानहरु हात्तीसँग झडपमा उत्रिदैनन्। यो नै मानवीय क्षति रोक्ने अचुक उपाय हो।’

विगत तीन वर्ष यता मेचीनगरको बाहुनडाँगी क्षेत्रमा हात्तीको आक्रमणमा मानवीय क्षति भएको छैन। गाउँले धुइरिएर हात्ती लखेट्ने चलन हटेपछि क्षति रोकिएको बाहुनडाँगीबासीको अनुभव छ। स्थानीय नगरपालिकाले पनि हात्तीमैत्री कृषि उद्यमका लागि अनुदान उपलब्ध गराउन थालेको छ।

‘बिगतमा हात्तीलाई आतङ्कको रुपमा व्याख्या गर्दै मानिसहरुले नियन्त्रणका लागि पुल्ठो बाल्ने, पटाका पड्काउने, सुरुङ खन्ने, हात्तीबार लगाउने, दलबलका साथ गस्ती गर्ने लगायतका सबै उपाय गरेकै हो,’ उनी भन्छन्–’हामीले अपनाएका उपायहरुमध्ये विद्युतीय तारबार र सहअस्तित्वका लागि हात्तीमैत्री नीति सबैभन्दा प्रभावकारी सावित भएका छन्।’

प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमका अनुसार झापाको बाहुनडाँगीमा एक दशकअघि नै १८ किलोमिटर विद्युतीय घेराबेरा गरिएको छ। जसका कारण भारतबाट हात्ती आउन अधिकतम् मात्रामा रोकिएको दाबी छ। हाल बाहुनडाँगी, जलथल र चारआली जङ्गलको वरिपरि ७६ किलोमिटर लामो विद्युतीय तारबार सम्पन्न भइसकेको छ। यसमा राज्यले रु. १२ करोडभन्दा बढी नै लगानी गरिसकेको छ। जङ्गली हात्तीको आक्रमणबाट मानव वस्ती जोगाउने सबैभन्दा भरपर्दो उपायको रुपमा विद्युतीय घेराबेरा मानिएको उल्लेख गर्दै उनले झापामा जङ्गल क्षेत्र धेरै भएको कारण घेराबेरालाई क्रमिक रुपमा विस्तार गर्दै लैजान आवश्यक रहेको बताए।

हात्तीसँगको तीन दशक लामो द्वन्द्वमा मानिसले हात्तीलाई मारेर होइन, मैत्रीपूर्ण व्यवहार गरेर क्षति रोक्न सकिन्छ भन्ने पाठ सिकेको छ। पहिले मानिसहरु हात्तीलाई मारेर समस्याको समाधान हुन्छ भन्ने सोच राख्दथे। तर, अहिले जंगलमै रहनका लागि आहारको व्यवस्था गर्न हात्तीलाई मनपर्ने बोटविरुवा लगाउन समुदाय नै जुट्न थालेका छन्।

कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ‘जसको जंगल उसकै मङ्गल’ भन्ने नारासहित सात महिनाअघि झापाको बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीमैत्री पैदलयात्रा गर्नुभएको थियो। उनले हात्ती हिंड्ने क्षेत्रलाई करिडोरको रुपमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने नयाँ अवधारणा अघि सार्नुभएको थियो।

हात्तीलाई जङ्गलमा आहार जुटाउन अर्जुनधाराको खुदुनाबारीस्थित जुकेखाँडी समुदायिक वनले २० हजार फलफूलका विरुवा हालै जंगलमा रोपेको छ। स्थानीय समुदायसमेत हात्ती मैत्री उपायहरु अवलम्बन गर्दै मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा सहमत हुन थालेका छन्।

मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेल हात्तीमैत्री कार्यक्रमका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने माग गर्नुहुन्छ। हात्तीको नजिक गएर नजिस्काएसम्म उसले कहिल्यै आक्रमण नगर्ने जनाउँदै उनले आहारको खोजीमा बाध्य भएर जंगली जनावरहरु मानववस्तीमा पस्ने गरेको बताए।

नेपालको सबैभन्दा बढी हात्तीपीडित क्षेत्रको रुपमा बाहुनडाँगीको चर्चा हुन थालेको चार दशक भइसक्यो। सडकदेखि सदनसम्म बाहुनडाँगीबासीलाई कसरी हात्तीको आक्रमणबाट जोगाउने भनेर उपाय खोजिन्छ। मानव–हात्ती द्वन्द्वका कारण सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको बाहुनडाँगीले अब हात्तीलाई माया गर्न थालेको छ। जसका कारण मानव र हात्ती दुबै सहअस्तित्वमा रम्ने वातावरण बनेको छ। -रासस

प्रकाशित: २०८१ साउन ३२ गते शुक्रबार ०५:३१
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना