काठमाडौं– धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगर–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोरा ९ वर्षीय मोहमद अल्कामा र मोहमद अब्दुलको मृत्यु भएको हो।
शनिबार बेलुकी स्थानीय गोगलप्रसाद नमुना माविनजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको हो। बालकद्वय पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाइलस्थित प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उनीहरूलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगेको थियो।
उपचारका क्रममा राती ८ बजे दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए। हाल दुवै बालकको शव अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


