काठमाडौँ– काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि बुधबार साँझबाट एकतर्फी सवारी आवागमन खुलाइएको छ।
प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र काठमाडौं आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन सुरू भएको छ।
सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ।
बुधबार बिहान १०:३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो। जसका कारण काठमाडौं नौविसे सडक खण्ड प्रभावित भएको थियो।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए। तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ।



