काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै छ। यसअघि ११ वैशाखमा न्यायाधीश दीपक ढकालको इजलासमा तोकिएको अन्तिम पेसीमा जाहेरवालाबाट चार कानुन व्यवसायीले बहस गरेपछि स्थगित भएको थियो। त्यसपछि आजलाई पुनः पेसी तोकिएको हो।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। गत वर्ष ५ भदौमा सन्दीपले बलात्कार गरेको बताएर एक नाबालिग युवतीले २१ भदौमा गौशाला प्रहरी वृत्तमा जाहेरी दर्ता गराएकी थिइन्।
आज पीडितले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा पनि सुनुवाइ हुनेछ। सन्दीपविरुद्धको मुद्दाका पीडितले अन्तरिम राहत माग गर्दै पेस गरेको निवेदनको सुनुवाइ गत बिहीबार भएको थियो।
उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । पक्राउपछि प्रहरी हिरासतमा राखिएका सन्दीपलाई अनुसन्धान सकिएसँगै १५ कात्तिकमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) बमोजिम को कसुरमा मुद्दा दायर भएको थियो।
उनलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेश पाटन उच्च अदालतले उल्टाउँदै लामिछाने विदेश जान नपाउने सर्तसहित २० लाख धरौटीमा रिहा भएका थिए।
उच्च अदालतको उक्त आदेश सदर गर्दै सर्वोच्च अदालतको न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उनलाई क्रिकेट खेल्न विदेशसमेत जान मिल्ने गरी धरौटीमा छाड्ने आदेश दिएको थियो।
