काठमाडौँ– भारतीय अभिनेत्री आशा शर्माको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन।
आशा ४ दशकदेखि टिभी र फिल्म उद्योगको सक्रिय अभिनेत्री थिइन्। उनले टेलिभिजनमा आमा र हजुरआमाको भूमिका निर्वाह गर्दै आएकी थिइन्।
आशा ‘दो दिशाएँ’, ‘मुझे कुछ कहना है’, ‘प्यार तो होना ही था’ र ‘हम तुम्हारे हैं सनम’ जस्ता फिल्ममा देखिएकी थिइन्। सन् १९८२ मा हेमा मालिनी र धर्मेन्द्रको फिल्म ‘दो दिशाएँ’ मा आशाले श्रीमती निवरण शर्माको भूमिका निभाएकी थिइन्। उनी पछिल्लो पटक प्रभास र कृति सेननको फिल्म ‘आदिपुरुष’ मा देखिएकी थिइन्। आशाले शबरीको भूमिका निभाएकी थिइन्।
योसँगै उनी टिभीमा ‘मनकी आवाज प्रतिज्ञा’ र ‘कुमकुम भाग्य’मा देखिएकी थिइन्। आशाले करिब ४० चलचित्र र धेरै टिभी कार्यक्रममा अभिनय गरिन्।
आशाले स्टार परिवार अवार्डमा फेवरेट एल्डरली अवार्ड जितेकी थिइन्।


