काठमाडौं – मदन भण्डारी स्पोर्टस एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोश्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त राष्ट्रिय प्रतियोगिता जेठ १३ गते सुर्खेतमा हुने भएको छ। ७२ औं मदन स्मृति तथा मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको विविध खेलकुदअन्तर्गत रेस्लिङको दोश्रो संस्करण सुर्खेतमा हुन लागेको नेपाल रिङ रेस्लिङ संघकी महासचिव समेत रहेकी एकेडेमीकी केन्द्रीय उप–महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्।
प्रतियोगितामा लाइट वेटतर्फ सिजे वल्र्ड र कम्व्याटको भिडन्त हुने छ। यसका साथै महिलातर्फ तन्नु र आकृती भिड्ने छन् भने ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिमसंग तथा एक्स हिरोबीच हुनेछ। हार्डकोर भिडन्तमा चट्टान र स्पाइडरम्यान उपाधिका लागि रिङमा उत्रने छन्। लाइट वेटमा डेभिडले र साइनको सामना गर्नेछन्। त्यस्तै नुवाकोटे टाइगर र किङ रोर्वोटबीच हेभीवेटमा भिड्ने छन्।
लाइट वेटतर्फको विजेताले नगद ५० हजार, ट्याग टिम च्याम्पियनले नगद ५० हजार, लेडिज वेट च्याम्पियनले नगद ६० हजार, मिडल वेट च्याम्पियनले नगद ७० हजार, हार्डकोर च्याम्पियनले नगद ७५ हजार र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५ हजार प्राप्त गर्ने छन्।


