काठमाडौँ- भारतीय मूलका बेलायती युट्युबर अरुण रुपैश मैनी उर्फ मिस्टर हुज द बोसले सबैभन्दा ठूलो आईफोन निर्माण गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्।
आईफोन १५ प्रो म्याक्सको डुप्लिकेट ६.७४ फिट (२.५४ मिटर) अग्लो आईफोन निर्माण गरेर उनले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन्।
युट्युबर ‘मिस्टर हुज द बोस’ले अर्का युट्युबर डीआईवाईप्रेक्ससँग सहकार्य गरेर यो कीर्तिमान बनाएका हुन्। यस आईफोनमा ८८ इन्चको ओलेड डिस्प्ले छ। यसको पछाडिपट्टि ४०० वाटको टर्च अर्थात् फ्ल्यास लाइट छ।
क्यामेराको सन्दर्भमा यसमा क्यानन ईओएस आर फाइभ क्यामेरा प्रयोग गरिएको छ। क्यामेराको मूल्य मात्र ३,५०० डलर (करिब चार लाख ६९ हजार रुपैयाँ) पर्ने बताइएको छ। फोनमा १२८ जीबीको र्याम छ भने २४ कोर इन्टेल कोर आईनाइन प्रोसेसर राखिएको छ। स्टोरेजको कुरा गर्नु पर्दा यसमा चार टीबीको एसएसडी राखिएको छ।
यसबाट टेस्क्ट तथा ईमेल पठाउन, एप चलाउन र फोटो खिच्न सकिने बताइएको छ। सबैभन्दा रोचक विषय त के छ भने यसलाई चार्ज गर्नका लागि उनीहरूले विश्वकै सबैभन्दा ठुलो टाइप-सी चार्जर समेत बनाएका छन्।
यो फोनमा प्रयोग भएका विभिन्न सामानहरूको मूल्य ७० हजार ६३० डलर (करिब ९४ लाख ६४ हजार रुपैयाँ) परेको छ।


