काठमाडौँ- नेपाल क्रिकेट संघ(क्यान)ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ। मंगलवार साँझ क्यानडातर्फ प्रस्थान गर्ने तयारीमा रहेको टोलीलाई क्यानले बिदाइ गरेको हो।
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडा, नेपाल र ओमान सहभागी हुँदैछन्।
त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ। त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग छ।
तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ। सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।
क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सन्जालमार्फत ओडीआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टी-२० आई सिरिज हुने बताएको थियो। सिरिज असोज १२ देखि १७ गतेसम्म हुनेछ।
टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ। तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ।
टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडीआई सिरिज क्यानद्वारा जारी बार्षिक क्यालेन्डरमा छ। त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ। क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरी भने क्यानडामा नै छन्।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले टोलीको बिदाइ गरे।
नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, देव खनाल (ट्राभलिङ रिजर्भ)।


