काठमाडौँ- नेपाल राष्ट्र बैंकले १५ दिनका लागि १५ अर्ब रुपैयाँ रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाउने भएको छ। फागुन १७ गते पठाएको २० अर्ब रिपो परिपक्व भएपछि राष्ट्र बैंकले पुन: १५ अर्ब रुपैयाँ बजारमा पठाउन लागिएको राष्ट्र बैंकले जानकारी दिएको हो।
बैंकिङ प्रणालीमा तरलता अभावको अवस्था सुधार भएपनि १५ देखि २० अर्बको हाराहारीमा कम रहेको निष्कर्षका आधारमा राष्ट्र बैंकले रिपोमार्फत रकम बजारमा पठाउन लागेको हो।
बुधबार जारी गरिएको सूचनामा बोलकबोलका लागि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरिएको छ। आजबाट रिपो जारी हुने राष्ट्र बैंकले जनाएको छ।
रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले सहभागी हुन पाउनेछन्। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोडदेखि ५ करोड रुपैयाँसम्मका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।
