काठमाडौँ- ‘माओवादी हिंसा’ संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निर्णयबाट नेकपा (माओवादी केन्द्र) पछि हटेको छ।
भदौ २६ गतेदेखि लगातार बैठकमा अवरोध गर्दै आएको माओवादी सोमबारको प्रतिनिधि सभा बैठक चल्न दिने निष्कर्षमा पुगेको हो। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ।
माओवादीका सांसद लेखनाथ दाहालले सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तालिका तय गरिएकाले बैठक सञ्चालन गर्न दिने कुरा बताए।
सोमबार नै सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन पनि पेस गर्ने तयारी गरेकाले बैठक चल्न दिने निष्कर्षमा पुगिएको दाहालको भनाइ छ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्न लागेका हुन्। असोज ४ गते प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क जाने कार्यक्रम छ।
आइतबार प्रतिनिधिसभा बैठक पटकपटक सरेर पनि बस्दै नबसी स्थगित भएको थियो।
दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक सुरुमा २ बजेका लागि सारिएको थियो। उक्त समयमा पनि बैठक बस्ने वातावरण नबनेपछि दिउँसो ३ बजेर १५ मिनेटका लागि सारिएको थियो। अन्तमा उक्त समयमा पनि बस्दै नबसी स्थगित भयो।
सभामुख देवराज घिमिरेले विशेष कारणले बस्न नसक्ने भएको भन्दै सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक सारेका थिए। प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भनेर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले चेतावनी दिएपछि सभामुख देवराज घिमिरेले बैठक नराखी स्थगित गरेका हुन्।
यसअघि आइतबार बिहान मात्रै सदनको अवरोध खुलाउनका लागि सभामुखले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। तर माओवादीले अडान छोडेको थिएन। सोमबार आइपुग्दा माओवादी पछि हटेको हो।
भदौ १२ गते प्रतिनिधि सभा बैठकमा तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित सशस्त्र सङ्घर्षलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले योगेश भट्टराईले ‘माओवादी हिंसा’का रुपमा टिप्पणी गरेका थिए। उक्त शब्द असंसदीय भएको भन्दै माओवादीले विरोध जनाएको थियो।
माओवादीको विरोधपछि उक्त शब्दका विषयमा ध्यानाकर्षण भएको बताएका सभामुख देवराजले भदौ २६ गते उक्त शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएपछि माओवादी सभामुखप्रति पनि आक्रामक छ।
‘माओवादी हिंसा’ असंसदीय र असंवैधानिक भएको भन्दै माओवादीले यसअघि भदौ २६ यताका बैठकमा अवरोध गरिरहेको थियो।
माओवादी केन्द्रले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द रेडर्कबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको थियो।
यसैबीच संघीय संसदका दुवै सदन सोमबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ।


