काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन्।
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन्। काठमाडौं महानगरपालिकाका उपमेयर सुनीता डंगोलले उनलाई स्वागत गरेकी थिइन्।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो।
भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो।
जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी थिए।
वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा पनि गरिएको थियो। जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ। यस पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।
