काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम ठगी गरेको आरोप लागेका राजनीतिक र प्रशासनिक क्षेत्रका अगुवाविरुद्ध अनुसन्धान अघि बढाएको भन्दै नेपाली कांग्रेसका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका छन्। कांग्रेस संस्थापन इतर समूहका नेताहरूले सिंहदरवारमा मन्त्री श्रेष्ठलाई भेटी धन्यवाद दिएका हुन्।
नेताहरु रञ्जित कर्ण, गुरुराज घिमिरे, गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्यलगायत ३० जनाको टोलीले गृहमन्त्री खाणलाई भेट गरी धन्यवाद दिएका हुन्।उनीहरूले यो प्रकरणमा जोडिएका जो कोही भएपनि कारबाहीको दायरमा ल्याउन आग्रह गरेका थिए।
कांग्रेस नेताहरुले भ्रष्टाचारको जालो तोड्न गृहमन्त्री श्रेष्ठको प्रयासलाई सह्राना गरेका थिए। भेटपछि कांग्रेस नेताहरूलाई गृहमन्त्रीले सरकारले दृढतापूर्वक काम गर्ने विश्वास दिलाएका थिए।
‘यो विषयमा सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु,’ भेटपछि उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले कांग्रेस नेताहरूसँग भनेका थिए।
नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमनत्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परिसकेका छन्। एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार छन्।
यो प्रकरणमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र खाणपत्नी मञ्जुको पनि नाम मुछिएको छ।
पूर्वगृहमन्त्री खाणलाई ४ दिन हिरासतमा
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। नेपाली नागरिकलाई पैसा लिएर नक्कली शरणार्थी बनाउने गिरोहमा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री खाणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाढौँ जिल्ला अदालतले अनुमति दिएको हो।
खाण बुधबार बिहान पक्राउ परेका थिए।


