काठमाडौँ- ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ अखिल नेपाल टेबल टेनिस संघले ‘स्ट्याग गोल्बल च्याम्पियन्स लिग सिजन टु’ टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ।
असोज ७ देखि १२ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता सञ्चालन हुने आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीले जानकारी दिएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक स्ट्याग गोल्बल प्रालि, भारत रहेको छ। सम्पूर्ण खेल सामग्रीहरू उसले उपलब्ध गराउनेछ। सह-प्रायोजक समाजसेवी सुमन खड्गी र मेटल सेपर छन् उनिहरुले कुल ३ लाख ९१ हजार रुपैयाँ आर्थिक सहयोग गर्नेछन्।
प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब, यल टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, रेड टाइल्स, र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरी जम्मा सात टिमले भाग लिनेछन्।
प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टिमहरूले क्रमशः एक लाख र पचास हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगितालाई एक्सन स्पोर्ट्स एचडी-वान र स्ट्रिम लिगले प्रसारण गर्नेछन् भने डिस होम इन्टरनेट पनि पार्टनर छ।


