काठमाडौँ- ऐतिहासिक पदक जितेकी कराते खेलाडी एरिका गुरुङलाई काठमाडौँ विमानस्थलमा स्वागत गरिएको छ।
चीनमा भएको २०औं एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत जितेकी एरिकालाई मंगलबार विमानस्थलमा स्वागत गरिएको हो।
एरिकाको स्वागतका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङसहित सयौं करातेकर्मी विमानस्थलमा पुगेका थिए।
एरिकाले महिला ६८ केजीमाथि रजत पदक जितेकी थिइन्। स्वर्णको भिडन्तमा भने एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भइन्।
एसियाली सिनियर करातेका सबै संस्करणमा नेपाल पदकविहीन थियो।
एरिकाले फाइनल प्रवेश गरेर पहिलो पदक जित्दै इतिहास रचेकी हुन्।
एरिकाको यो पाँचौं अन्तर्राष्ट्रिय सहभागिता हो भने छैटौं पदक हो।
एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत जितेकी थिइन्।
यस्तै, भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।
करिब १ वर्षमा भएका यी प्रतियोगितामा उनका प्रशिक्षक कुशल श्रेष्ठ थिए।




















