काठमाडौँ- काठमाडौँ उपत्यकामा बस्दै आएका थारु तथा मधेसी समुदायका सदस्यले जितिया पर्व मनाउँदैछन्। जितियाको अवसर पारेर थारु समुदायका सदस्यहरु उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक पोशाकमा सजिएर भेला भएर जितिया मनाइरहेका छन्।
३ दिने जितिया पर्वमा विशेषतः आमाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्ने गर्छन्।
सोमबारदेखि सुरु भएको यो पर्वको सुरुवाती दिन- सोमबार मिथिलाञ्चलका साथै नेपालका अन्य स्थानमा छरिएर बसेका थारुहरुले “नहा खा” अर्थात् नुहाएर खाने विधी सुरु गरेका थिए।
आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन्। यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ।
आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा अनुसार हिजो बिहान ४ बजेदेखि शुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज अपराह्न ५ बजे समापन भएको छ।
यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ। वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ।


















तस्बिर: नेपाल फोटो लाईब्रेरी
