पोखरा- कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टिम प्रथम भएको छ। आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका-१५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा-१५ को समन्वयमा प्रतियोगिता भएको हो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगदसँगै मेडल र प्रमाणपत्र प्राप्त गरे। विजयी टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँलगायतले पुरस्कार वितरण गरे। खेल हरियो खर्क हस्पतालको बास्केटबल मैदानमा भएको थियो।
पोखरा-१५ ले खेलकुदको विकासका लागि यसअघि पनि खेलकुद महोत्सव आयोजना गरेको थियो। ९०६ जना खेलाडीहरुको उल्लेख सहभागी गरेको उक्त खेलबाट उत्पादित खेलाडीहरु विभिन्न स्थानीय , जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलमा सहभागी भइरहेका छन्।



