काठमाडौँ- जनसंख्याको क्षेत्रमा कार्य गर्ने राष्ट्रिय तथा ख्याती प्राप्त अन्तराष्ट्रिय विज्ञहरुका अनुसन्धान र उत्कृष्ट अभ्यास, अन्वेषणको विस्तारलाई प्रोत्साहित गर्ने उद्देश्यले एसियन जनसंख्यिक सम्मेलन काठमाडौंमा हुने भएको छ।
सम्मेलन अगामी मंसिर १२ देखि १५ गतेसम्म चारदिनसम्म गर्ने तय गरिएको हो। त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा सम्मेलन हुन लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो।
सम्मेलनमा एसिया, युरोप तथा अमेरिका मुलुकका गरी ७ सय जना प्रतिनिधिको सहभागिता रहने अनुमान छ। सम्मेलनमा एसियाका विभिन्न देशका जनसंख्या विज्ञहरुले १७ वटा विभिन्न विषयवस्तुमा आधारित करिब ४ सय कार्यपत्र प्रस्तुत गर्ने छन्।
विश्वको जनसांख्यिक परिदृश्य, जनसांख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक, आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतिहरुमा केन्द्रित करीव ४ सय कार्यपत्रहरु प्रस्तुत गर्ने तयारी गरिएको आयोजक जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राडा योगेन्द्र गुरुङले बताए। सम्मेलनमा नेपाल सम्बन्धी विशेष सत्र समेत सञ्चालन गरिने छ।
‘राज्यका लागि जनसंख्या साधन, साध्य र स्रोत समेत हो। विकासका नीति बनाउँदा जनसंख्यालाई प्रमुख ध्यान दिनुपर्दछ। जनसंख्या किन र कसरी परिर्वतन भैरहेको छ। त्यसलाई राज्यले बेलैमा सम्बोधन के कसरी गर्नेबारे यो सम्मेलनले ठोस र सही दिशा दिने छ, यसले राज्यलाई आगामी दिनमा विकासका नीति तय गर्न सघाउनेछ,’ गुरुङले पत्रकार सम्मेलनमा भने।
सम्मेलनको लागि ५ करोड रुपैयाँ खर्च हुने अनुमान छ। सम्मेलनको व्यवस्थापन गर्न तीन वटा समिति गठन गरिएको छ। सम्मेलनमा सहभागीले दर्ता शुल्क वापत् ७ हजार, १० हजार, र १३ हजार रुपैयाँ तोकिएको छ।
हालसम्म दक्षिण एसिया बाहेकका देशका १ सय जना, दक्षिण एसियाबाट १ सय ७० जनाले सम्मेलनमा सहभागिताका लागि दर्ता गरिसकेको आयोजकले जानकारी दिएको छ।
विश्वव्यापी र एसियाली क्षेत्रमा जनसंख्याकीय संरचनामा आएको परिर्वतन सन्दर्भमा जनसंख्या र विकास मुद्दाको बुझाइमा प्राज्ञिक नीति निर्माण साथै विकास सरोकारवाला बीच साझा बुझाइ कायम गर्ने आशा गरिएको छ।
सम्मेलनले नेपालको विकासका एजेन्डालाई थप प्रवर्द्धन गर्न प्रमाणमा आधारित विकासमा जोड दिनुपर्ने आवश्यकतालाई थप बढवा दिने अपेक्षा गरिएको छ। पहिलो एसियाली जनसंख्या सम्मेलन सन् २०१० मा भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो।


