काठमाडौँ– काठमाडौँ उपत्यकाबाट दशैँका लागि घर जानेको संख्या दिनहुँ बढ्दो छ। काठमाडौँका बसपार्क र विमानस्थलमा घर जानेको संख्या उल्लेख्य हुँदा टिकट नपाउनेहरू पनि प्रशस्तै छन्।
काठमाडौंबाट बाहिरिन नागढुंगा नाका पूर्ण सञ्चालनमा छ। अरनिको राजमार्ग बाह्रबिसेसम्म र बीपी राजमार्ग भकुण्डेबेँसीसम्म मात्रै सञ्चालनमा छ।
नयाँ बसपार्कसहित कलङ्की, बल्खु र कोटेश्वर क्षेत्रमा घर फर्किनेको घुइँचो र सवारीसाधनको चाप छ। दसैँका बेला स्थलमार्ग हुँदै जाने यात्रुहरूले जोखिम मोलेरै यात्रा गरिरहेका छन्। यसपालि बाढीपहिरो र डुबानका कारण यात्रामा अझ बढी सकस छ।

























