काठमाडौँ– प्रतिनिधि सभा निर्वाचनका बेला पुराना नेताहरूलाई पुनः विजयी नगराउने डिजिटल अभियान चलाएको नो नट अगेनको आह्वानमा भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने भएको छ। ‘शासन बदल्यौँ, अब आचरण बदलौँ’ भन्ने नाराका साथ उसले वेशाख ३० गते हुने विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो।
बिहान ११ बजे माइतीघर मण्डलामा सुरु हुने प्रदर्शनले मुख्यतया नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर गरिएको ठगी प्रकरणको विरोध गर्नेछ। यसका साथै उक्त गिरोहमा संलग्न जोकोहीलाई पनि कारबाहीको माग गर्दै प्रदर्शन हुन लागेको अभियानले जानकारी दिएको छ।
एकसाथ उपस्थित भएर आवाज बुलन्द पार्ने बेला आएको अभियानको आह्वानपत्रमा उल्लेख छ। नागरिकका दुःख र आँसुहरूमाथि धावा बोल्नेहरूविरूद्ध एकजुट हुने बेला आएको भन्दै उसले रोष प्रकट गरेको छ।
भन्ने बेलामा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने तर टेबलमुनि हात लम्काउनेहरु जो जति छन् तिनीहरूलाई कानुनी कठघरामा उभ्याउने बेला आएको नो नट अगेनको भनाइ छ।



