काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले साफ महिला च्याम्पियनसिप २०२४ को टिकट बिक्री गर्ने भएको छ।
माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो।
आइतबार करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्ट सार्वजनिक भएपछि आलोचना भएपछि एन्फा आफैँले टिकट बिक्री गर्ने भएको हो।
लगत्तै एन्फाले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै बंगलादेश र नेपालबीच हुने फाइनल खेलको टिकट बिक्री रोकेको थियो।
एन्फाले जावलाखेल खेलमैदान, एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट बुधबार बिहान सामान्यतर्फ १० हजार टिकट बिक्री गर्ने जनाएको छ। फाइनलका लागि बुधबार बिहान मात्र टिकट बिक्री खुला गरिने भएको छ।
अखिल नेपाल फुटबल संघ-एन्फाले बिहान ८ बजे जावलाखेल मैदानमा टिकट बिक्री सुरु हुने जनाएको छ।
एक जनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेछन्।
टिकट अनलाइनबाट खरिद गर्न सकिने छैन। यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ।


