काठमाडौँ- कवि देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ विमोचन भएको छ। शनिबार काठमाडौँको सर्वनाम थियटरमा आयोजित कार्यक्रममा कवितासंग्रह विमोचन गरिएको हो।
३८ कविता संग्रहित कविताकिताबमा सरल भाषाशैलीका साथ समाजका विकृति र विसंगतिबारे असन्तुष्टि व्यक्त गरिएको छ। कवि देवव्रतको यो पहिलो कविताकृति हो।
विमोचन कार्यक्रमको प्रमुख अतिथि कवि तथा गीतकार श्रवण मुकारुङले देवव्रतका कविताले उनलाई नवकवि मात्र बन्न नदिएको बताए। ‘उनी (देवव्रत) नयाँ कवि होइनन्। उनी निखारिएका कवि हुन जस्तो लाग्यो,’ विमोचनमा मुकारुङले भने। विमोचनमा कविहरू दीपक सापकोटा र वन्दना ढकालले कविताबारे समीक्षा गरेका थिए।
‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ शीर्षककै कविताबाट कृतिशीर्षक जुराइएको यो संग्रहमा ‘आमा तिमी मुर्ख हौ’, ‘आगमन’, ‘ऊ’, ‘एकदिन’, ‘किङकोब्रा’, ‘कोठा’, ‘के छ?’, ‘तिमी गएपछि’, ‘सहर’, ‘नक्कली किसान’, ‘पृथ्वी’, ‘कर्णाली’लगायत कविता समावेश छन्।



