काठमाडौँ– साफ महिला च्याम्पियनसिप २०२४ फाइनल खेलमा नेपाल पराजित बनेको छ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २-१ ले पराजित बनेको हो।
पहिलो हाफमा दुवै टिमले गोल नगरी बराबरी गरेपनि खेलमा भएका तीनै गोल दोस्रो हाफमा भएका थिए।
खेलमा बङ्गलादेशले ५२औँ मिनेटमा पहिलो गोल गर्यो। बङ्गलादेशकी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन्।
खेलको ५६औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो। नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन्।
खेलको ८१औँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो। बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन्।
त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गदेशको पोल्टामा पुग्यो।
प्रतियोगितामा नेपाल लगातार तेस्रो पटक र बंगलादेश लगातार दोस्रो पटक फाइनल खेलेका थिए।
नेपालले साफ महिलाको उपाधि जित्न सकेको छैन। बंगलादेशले यसअघि पनि एक पटक उपाधि जितेको थियो।
साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो।
हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो।


