तानसेन- राष्ट्रिय पुरुष विच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो।
आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हरायो। उपाधि सहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझायो।
अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो। एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गर्यो। आर्मीलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। उनले १० हजार रुपैयाँ प्राप्त गरे।
चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरि ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि ९ टोली सहभागी थिए। राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई विच भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो।
समापन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्के लगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गरेका थिए।
प्रतियोगिताको दोस्रो संस्करणको उपस्थित भएर तानसेन नगरपालिका मेयर सन्तोषलाल श्रेष्ठ र बेगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानीमहल क्षेत्रलाई विच भलिबलको केन्द्र बनाउने घोषणा गरेका थिए। खेलकुदमार्फत पर्यटन क्षेत्रको विकास गर्न सञ्जय मेमोरियल फाउन्डेसनले रानीमहलमा राष्ट्रिय विच भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।


