काठमाडौँ- ऊर्जाराज्यमन्त्री पूर्णबहादुर ( कान्छाराम)तामाङको कन्सट्रक्सन कम्पनी कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले मन्त्री तामाङको कान्छारा कन्स्ट्रक्सनसहितका एक दर्जनभन्दा बढी कम्पनीलाई कालोसूचीमा राखेको हो।
कांग्रेस नेतासमेत रहेका तामाङको कान्छाराम कन्सट्रक्सनलाई लाई साढे दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा ऊर्जा, जलस्रोत र सिचाइँ राज्य मन्त्री रहेका पूर्णबहादुर तामाङ पेसाले ठेकेदार हुन्। उनको कम्पनी कान्छाराम कन्सट्रक्सनले धेरै आयोजनाको ठेक्का लिएर अलपत्र पारेको छ जसकारण तामाङ पटकपटक विवादमा आइरहेका हुन्छन्।
प्रधानमन्त्री केपी शर्मा ओली मातहतकै निकाय सार्वजनिक खरिद अनुगमन कार्यालयले राज्यमन्त्रीको कम्पनीलाई कालोसूचीमा राखेको हो।
२०७९ माघ १९ गते ‘क’ वर्गकै कम्पनी कान्छाराम कन्स्ट्रक्सनका सञ्चालक पूर्णबहादुर तामाङलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो। अब उनको कम्पनीलाई साढे दुई वर्ष कुनै पनि सार्वजनिक निकायको निर्माणमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको हो।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय तुम्लिङछटारले राज्यमन्त्रीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
यसअघि पूर्वाधार विकास कार्यालय मोरङले पनि राज्यमन्त्री तामाङको कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने भन्दै सूचना निकालेको थियो। २०८१ भदौ २३ गते कार्यालयले सूचना जारी गरेर ठेक्का तोड्ने भनेको थियो।
कान्छाराम कन्स्ट्रक्सनले मोरङको बबियाबिर्ता-रंजनी-काजीमानचोक-फर्साडाँगी हुँदै दोभानघाट-गान्धीआश्र-दोबरीयाथान हुँदै सुनवर्षी सडक २०७५ मा र कटहरी रिङरोड पश्चिमबाट खोरिया-महेशपुर हुँदै कृषि बजारसम्म पुग्ने सडक निर्माणका लागि २०७६ मा सम्झौता गरेको थियो। तर, हालसम्म पनि काम सम्पन्न भएको छैन।
यस्तै, कर्णाली प्रदेशमा पनि उनको कम्पनीले विभिन्न ठेक्का पाएको छ। यस्तै अरु तीन कम्पनीलाई पनि साढे दुई वर्षसम्म कालोसूचीमा राखिएको छ।
अरु दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।
रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन्।
यसैगरी रसुवाको नौकुण्ड गाउँपालिका कार्यालयको सिफारिसमा बुद्धिमान गोले मुख्य व्यक्ति भएको बी.जी. निर्माण सेवा प्रालि पोखरा पनि कालोसूचीमा परेको छ।
इलामस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन्।



