ललितपुर- ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनाधिकृत संरचनामा आज डोजर चलाएको छ।
ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनाधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो ।
२०७३/०९/१८ गते तत्कालिन ललितपुर उप-नगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृतले स्थानीय स्वायत्त शासन ऐवं २०५५ को दफा १६१ (४) अनुसार मापदण्ड विपरीत बोर्डले लगाएको पर्खाल भत्काउने निर्णय गरेको थियो।
यसपछि बोर्ड ललितपुर जिल्ला अदालतमा गएको थियो। २०७४ साउन १८ गते अदालतले महानगरको निर्णयलाई सदर गरेको थियो। उक्त निर्णयलाई २०७५ असार ०३ गते उच्च अदालतले पनि सदर गरेको थियो।
यसपछि बोर्ड फेरि सर्वोच्च अदालत पुग्यो। सर्वोच्चले २०७६/०५/०३ गते उक्त रिट निवेदन खारेज गरिदिएको थियो।
महानगरले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय लियो। यसका लागि उसले बोर्डलाई पनि पत्र पठाएको थियो। बोर्डले २०७६ कात्तिक ६ गते उक्त पत्र बुझेको महानगरको भनाइ छ।












