काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा भारतका चर्चित ब्याटर शिखर धवनको प्रवेश भएको छ। उनलाई कर्णाली याक्सले अनुबन्ध गरेको छ। कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो।
सम्झौतामा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन्। सम्झौता रकम भने गोप्य राखिएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक खनाल र धवनसँगै भारतका लागि कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो।
३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबाट खेलेका छन्। उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन्। उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए। त्यस्तै, भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन्।
भारतका लागि कार्यवाहक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवर्द्धनको लागि सुखद सन्देश रहेको बताए। ‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवर्द्धनमा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ,’ थापाले भने।


