काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ। सिद्धार्थ बैंकको मुख्य प्रायोजन गरेको एनपीएल ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरेका हुन्।
ट्रफी अनावरणपछि प्रधानमन्त्रीसँगै प्रतियोगतामा सहभागी ८ वटै टोलीका मार्की खेलाडीले ट्रफीलाई धरहराको माथि पुर्याइएको थियो।
एनपीएलको ट्रफीको सबैभन्दा माथि एउटा ढुंगा राखिएको छ। ट्रफीमा सगरमाथा बेस क्याम्प कालापत्त्थरको ढुंगा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। क्यानका सचिव पारस खड्काले प्रस्ट पारेका छन्। नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुङ्गा राखिएको उनी बताउँछन् ।
‘एनपीएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्याउने आशा राखेका छौँ, यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ। साथै, ट्रफीलाई विशेष बनाउन पनि राखिएको हो,’ उनले भने।
सगरमाथा आरोहीद्वय निमा शर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा राख्नका लागि कालपत्थरबाट ढुंगा ल्याएका थिए। कार्यक्रममा निमा र मिङ्मालाई सम्मान गरिएको थियो।
प्रधानमन्त्री ओलीले नेपाल खेलकुदका लागि एनपीएलको आयोजना महत्त्वपूर्ण भएको भन्दै एनपीएलले खेलकुदमा नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे।
क्रिकेट युवा पुस्ताको सपना जोडिएको भन्दै सबैले समग्र खेलकुद विकासका सहयोग पुर्याउनु पर्ने बताए।
प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीहरूको प्रशंसा गरेका थिए। साथै प्रधानमन्त्री ओलीले क्यानलाई महिला एनपीएल आयोजनाको सुझाव दिए।
उनले खेलकुद क्षेत्रमा आफूलाई नै चित नबुझ्ने बजेट विनियोजन हुने गरेको भन्दै सरकारले लगानी बढाउने आश्वासन दिएका थिए।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपीएलको चर्चा राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा पनि चर्चा पाइरहेको बताए।
मंसिर १५ गतेदेखि सुरू हुने प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौं गोर्खाज्, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स गरी ८ टिमले प्रतिस्पर्धा गर्दैछन्। पहिलोपटक एनपीएल हुन लागेको हो।
ट्रफी सार्वजनिक कार्यक्रमका तस्बिरहरू














