काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्।
कर्णाली याक्समा आबद्ध भएका धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन्।
उनलाई स्वागत गर्न कर्णालीका अफिसियलहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
शिखरले कर्णालीबाट कम्तीमा ४ खेल खेल्ने छन्।
उनले एक खेलको ३० हजार डलर पाउने छन्।
शिखर एनपीएलमा अनुबन्ध हुने सबैभन्दा महँगा खेलाडी हुन्।
‘मैले हालै रिटायरमेन्ट लिएँ। नेपालमा नागरिकसँग हाम्रो पुरानो सम्बन्ध हो। मौका मिल्नासाथ यहाँ खेल्न आएको हुँ,’ विमानस्थलमा स्वागत ग्रहण गरेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने।
एनपीएल नेपालको क्रिकेटका लागि ठूलो ‘ब्लेसिङ’ भएको उनको भनाइ थियो। नेपालमा क्रिकेटका समर्थकको पनि उनले प्रशंशा गरेका थिए। एनपीएल खेलका टिकट सोल्डआउट भएको प्रसंग पनि उल्लेख गरेका थिए।
उनले विराटनगर किंङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई पनि आफ्नो स्नेह गरेको बताएका थिए। सन्दीपले धवनलाई नेपालमा स्वागत भनेर म्यासेज गरेका थिए।
३८ वर्षीय बायाँहाते ओपनर धवनले आईपीएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पन्जाब किंग्सबाट खेलिसकेका छन्।
उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए। भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन्। एनपीएल खेल्ने सबैभन्दा ठूलो र चर्चित नाम उनकै बनेको छ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग खेल्नेछ।
