काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा नेपालका व्यापारीहरूको पनि लर्को लाग्ने भएको छ।
मंसिर १७ देखि २० सम्म हुने चीन भ्रमणमा ३ दर्जन व्यापारी पनि सँगै जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले तयार पारेको सूचीमा ३६ व्यापारी छन्।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठलगायत चीन जाने छन्।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्रा, उपाध्यक्ष उर्मिला श्रेष्ठ पनि प्रधानमन्त्रीसँग चीन जाँदैछन्।
यसैगरी स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की, उपाध्यक्ष मोहन डाँगी, नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष करण चौधरी, निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे, सिम्याक्स इङ्क प्रालीका अध्यक्ष अनिल श्रेष्ठ पनि प्रधानमन्त्रीको भ्रमण दलमा समेटिएका छन्।
प्रधानमन्त्री ओली ८७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै चीन जाने गरी मन्त्रिपरिषदले प्रस्ताव पारित गरिसकेको छ।



