काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर संगठित ठगी गरेको आरोपमा हालसम्म १३ जना पक्राउ परेका छन्। यो प्रकरणमा जोडिएर पक्राउ पुर्जी जारी भएपछि एमाले सचिवबाट निलम्बनमा परेका तथा पूर्वउप्रधानमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी समातिएसँगै पक्राउ पर्नेको संख्या १३ पुगेको हो। रायमाझी ११ दिन सम्पर्कविहीन रहेर पक्राउ परेका हुन्।
प्रहरीले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको छ। म्याद थप भएलगत्तै सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई बयान गराइएको थियो।
आजै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको थियो। उनको बयान अझै पूरा नभएकाले मंगलबार पनि जारी रहने बताइएको छ। आजै टोपको पनि बयान लिनुपर्ने भएकाले खाणको बयान पूरा नभएको हो।
प्रतिनिधि सभामा सांसद रायमाझी पक्राउ परेको जानकारी सदनलाई गराइएको छ। सभामुख देवराज घिमिरेले सोमबार भएको प्रतिनिधिसभा बैठकमा रायमाझीलाई पक्राउ परेको जानकारी गराएका हुन्। रायमाझीलाई एमालेले पनि निलम्बन गरिसकेको छ।
बयानका लागि अदालत उपस्थित गराइएका टोपले आफूलाई हर्निया भएको भन्दै अस्पताल बस्ने व्यवस्था गरिदिन माग गरेका थिए। तर न्यायाधीशले भने आफूलाई पनि हर्निया भएको तर आफू नियमित रूपमा काममा सक्रिय भइरहेको बताइदिएका थिए।
खाणका विषयमा नेपाली कांग्रेस पदाधिकारी बैठकमा छलफल भएपनि उनलाई तत्काली निलम्बन गर्न नपर्ने ठहर गरेको छ। बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्न माग गरेपनि सभापति देउवाले उनीहरूको मागको कुनै सुनुवाइ गरेनन्।

उता नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले हिजो देशको नेतृत्व गरेका व्यक्ति दुई कौडीको भाउमा बिक्री नहुने गरी फ्याँकिएका वस्तु बनेको टिप्पणी गरेका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रामयाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत हाइ प्रोफाइल व्यक्तिहरू अहिले चिसो छिँडीमा पुगेको उनको भनाइ छ।
‘हिजोसम्म गृहमन्त्री भएर देशलाई नेतृत्व गरिरहेका, हिजोसम्म मन्त्री र उपप्रधानमन्त्री भएका मान्छेहरु आज दुई कौडीको भाउमा बिक्री नहुने लिलामी वस्तुको रुपमा फ्याँकिएका छन्,’ अखिल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘उनीहरु आज जेलको छिँडीमा रुँदै बस्नुपर्ने स्थिति बनेको छ। तर, हामीले खोतल्दै गयौँ भनेर धेरै कुरा देखिन्छ।’ संसदीय व्यवस्थामा असल मान्छे हाले पनि सिंङपुच्छार उमारेर निस्किने उनको टिप्पणी छ।
यसै प्रकरणमा आशंका लागेका व्यक्तिहरूलाई प्रहरीले बयान लिनसमेत थालेको छ। गृह मन्त्रालयका दुई अधिकारीसँग समेत बयान लिइएको प्रहरीले जानकारी दिएको छ।
ठगी प्रकरणका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग बयान लिएको हो। दुवै जना बयानका लागि जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका थिए। उनीहरूसँग आइतबार र सोमबार प्रहरीले बयान लिएको थियो।
रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलले बनाएको प्रतिवेदन कीर्ते गरेको विषयमा प्रहरीले उनीहरुसँग पनि प्रश्न गरेको थियो। तत्कालीन अवस्थामा पोखरेल शान्तिसुरक्षा महाशाखाको प्रमुख थिए भने पाठक स्थानीय प्रशासन शाखामा कार्यरत थिए। अहिले भने पोखरेल गृह मन्त्रालयमै छन् भने पाठक गुल्मीमा प्रमुख जिल्ला अधिकारी छन्। यो प्रकरणमा प्रहरी अनुसन्धान जारी छ।
प्रतिनिधि सभा बैठकको नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा बहस चर्किएको छ। प्रकरणमा संलग्नहरू जो कोही भएपनि पक्राउ गरी कारबाही गर्न सांसदहरूको माग छ। बैठकमा बोल्ने अधिकांश सांसदले उच्च राजनीतिक व्यक्तिकै संलग्नतामा संगठित अपराधका घटना भएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
यो प्रकरणमा पक्राउ परेका हाई प्रोफाइल
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी
पूर्वगृहमन्त्री बालकृष्ण खाड
खाणका पीए नरेन्द्र केसी
नेपाल सरकारका सचिव टेकनारायण पाण्डे
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई
एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी
बिचौलियाहरू: केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ राई, रामशरण केसी, गोविन्द चौधरी
फरार को को?
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा
डा इन्द्रजित राईका छोरा निरज राई
नक्कली टोपको पनि खोजी
टोपबहादुरको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर जथाभाबी लेख्नेलाई समेत खोजी गर्न थालिएको प्रहरीले जानकारी दिएको छ। रायमाझीको फोटो दुरुपयोग गरी फेसबुकको नक्कली एकाउन्ट विभिन्न स्टाटस सार्वजनिक हुँदै आएका छन्। प्रहरीको साइबर ब्युरोले यसबारे अनुसन्धान थालेको जानकारी दिएको छ।
फेक अकाउन्टबाट लेखिएको स्ट्याटसमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूको नाम जोडिएको छ।
सक्कलीलाई समस्या
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरू पक्राउ परिरहँदा सक्कली भुटानी शरणार्थीहरूले भने आफूहरूको परिचयपत्र ८ महिनादेखि नवीकरण हुन नसकेको गुनासो गरेका छन्।
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईले सोमबार जारी गरेको विज्ञप्तिमा यो प्रकरणले नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकारको आरोपलाई बल पुगेको उल्लेख गरिएको छ। यसले सक्कली शरणार्थीलाई गम्भीर असर पुगेको बताइएको छ।
नेपालका शिविरमा करिब ६ हजार ५०० भुटानी शरणार्थीहरू आश्रय लिँदै आएको बताइएको छ।


