काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनासम्बन्धी अनुसन्धान गर्न स्थायी आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन्। सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन्।
‘हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानूनी प्रक्रिया आगाडि बढेको छ,’ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले, ‘आयोग बनेपछि नेपाली आकाशमा देखिएका समस्या न्यूनीकरमा उल्लेख्य प्रगति हुनेछ।’
पछिल्लो समय तथ्य र तथ्याङ्क भन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको टिप्पणी छ।
नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सहकार्य गर्न सके पनि हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ।
यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा ’दिगो भविष्य: आगामी ८० वर्षको लागि सँगै’ भन्ने रहेको छ।


