काठमाडौँ– यूएईका अलराउन्डर रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्।
सुदूरपश्चिम रोयल्समा अनुबन्धित रोहनले आगामी खेल नखेल्ने रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए।
‘पारिवारिक समस्याले म घर जान्छु भनेपछि उहाँ (मुस्तफा)लाई हामीले बिदा गरेका हौं। उहाँको ठाउँमा अर्को खेलाडी लिइसकेका छौं। घर गएर फर्किने समय हुँदैन भन्नुभएको छ। उहाँ आउनुहुन्न’, उनले भने।
मुस्तफाले एनपीएलमा सुदूरपश्चिमबाट एक खेल खेलेका थिए।
उता कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले पनि नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्।
कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो। ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किनेछन्।
कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर स्वदेश फर्किन लागेका छन्।
‘उहाँको ११ तारिखपछि अर्को टुर्नामेन्ट रहेछ। उहाँ मार्की प्लेयर हुनुहुँदो रहेछ। हाम्रो गेम भोलि या पर्सि भएको भए उहाँ खेल्नुहुन्थ्यो, तर १० तारिखमा त उहाँ जानुपर्ने भएकाले आगामी खेल खेल्नुहुन्न’, उनले भने।
शिखरको ठाउँ अर्को खेलाडी लिने वा नलिने भन्ने विषयमा प्रशिक्षकले निर्णय लिने घिमिरेले बताए।
एनपीएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए। उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए।
४ खेल खेलेको कर्णालीले २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ।
