काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्ट्याउन गाह्रो हुने उहाँको कौसल छ। मैले मात्र होइन्, विश्वले नै छुट्याउन सकिरहेको छैनजस्तो लाग्छ।”
जारी एनपिएलमा पोखराका कप्तान तथा मार्की खेलाडी कुशललाई बलर हुन् कि ब्याटर छुट्याउनै सकस पर्यो। उनी न त ब्याटिङतर्फ चल्न सके, न बलिङमा नै जमे। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर भुर्तेललाई लिएर जुन अपेक्षा गरिएको थियो। त्यो पूरा हुन सकेन। जारी एनपिएलमा कप्तान कुशलको प्रदर्शन निराशाजनक रहेजस्तै ‘पोखरा एभेन्जस’ पनि खेलमा बढ्न सकेन।
चल्न नसकेको ब्याट
पोखरा एभेन्जर्सका कप्तान तथा मार्की खेलाडी हुन्, नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर भुर्तेल। एनपिएलमा कुशलको प्रदर्शन खासै राम्रो भने हुन सकेन। आफ्नो पहिलो खेलमा चितवन राइनोजविरूद्ध उनी पहिलो बलमै आउट भए। चितवनसँगको खेलमा पनि बलिङ गर्दा उनले एक ओभरमै १० रन दिए। तर, खेलमा उनले तीन वटा क्याच भने समातेका थिए।
दोस्रो खेलमा पनि जनकपुर बोल्ट्सविरूद्ध उनी चल्न सकेनन्। उनी जनकपुरविरूद्ध ६ बलमा एकचौका प्रहार गर्दै ६ रन मात्रै बनाएर आउट भए। बलिङतर्फ पनि २.१८ रन खर्चिँदै एक विकेट मात्रै हात पारे। तेस्रो खेलमा भने पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो। यो खेलमा कप्तान भुर्तेलले बलिङ गरेनन्। ओपनर दुई खेलाडी एन्ड्रिज गौस र दिनेश खरेलले अविजित रहँदै खेल जितेपछि भुर्तेललाई ब्याटिङ गर्नुपरेन।
चौथो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भयो। यो खेलमा भुर्तेलले पोखराका लागि १० रन मात्रै बनाए। उनले ११ बलमा एक छक्काको मद्दतले १० रन मात्रै बनाएका थिए। यद्यपि, बलिङतर्फ एक ओभरमा १४ रन खर्चिएर एक विकेट भने हात पारे।
आफ्नो पाचौँ खेलमा भने पोखराले विराटनगर किङ्ग्सलाई सुपरओभरमा हराएको थियो। यो खेलमा कुशलको ब्याट मैदानमा केही समय टिक्यो। कुशलले विराटनगरविरूद्ध ३१ रन जोडे। बलिङतर्फ पनि ४ ओभरमा ३२ रन खर्चिएर एक विकेट हात पारे।
छैठौँ खेलमा पोखरा काठमाडौँसँग स्तब्ध बन्यो। काठमाडौँले पोखरालाई ६ विकेटले हरायो। यो खेलमा पनि कुशलको प्रदर्शन निराशाजनक नै रह्यो। कुशलले काठमाडौँविरूद्ध ब्याटिङतर्फ १० बलमा ७ रन बनाएर आउट भए। बलिङतर्फ एक विकेट पनि झार्न सकेनन्। तर, २ ओभर बलिङ गरेका भुर्तेलले १२ रनमात्रै खर्चिए।
एनपिएलको लिग चरणको आफ्नो सातौँ अर्थात् अन्तिम खेलमा पनि भुर्तेलको ब्याट चल्नै सकेन। सुदूरपश्चिम रोयल्सले उक्त खेलमा पोखरालाई ५ रनले हरायो। सुदूरपश्चिम रोयल्सविरूद्ध भुर्तेल शून्य रनमै आउट भए। तर, बलिङतर्फ भने २ विकेट हात पारे। ४ ओभर बलिङ गरेका भुर्तेलले २७ रन भने खर्चिए।
जारी एनपिएलका ७ वटा खेलबाट पोखराका कप्तान भुर्तेलले कूल ५४ रन बनाएका छन्। उनको उच्च स्कोर ३१ छ, जुन उनले विराटनगरविरूद्ध बनाएका थिए। जारी एनपिएलमा भुर्तेलले दुई छक्का र चार चौका प्रहार गरेका छन्। एनपिएलमा उनले कूल पाँच विकेट आफ्नो नाममा दर्ता गरेका छन्, भने एक सय १३ रन खर्चिएका छन्।
विदेशी खेलाडीको सन्तोषजनक प्रदर्शन
पोखराले एनपिएलका लिग चरणका सातमध्ये दुई खेल मात्रै जित्यो। पोखराको खेलमा विदेशी खेलाडीले सक्दो प्रयास गरे । तर, स्वदेशी खेलाडी मैदानमा चल्न नसक्दा पोखराको प्रदर्शन निराशाजनक रह्यो।
पोखराबाट नेदरल्याण्डका बास डे लिड, वेष्ट इन्डिजका रेमन रेफर, इग्ल्याण्डका म्याट क्रिचले र जेन मलिक, स्कटल्याण्डका माइकल लीस्क, अमेरिकाका एन्ड्रिज गौस एनपिएल खेलेका थिए। उनीहरूको प्रदर्शन सन्तोषजनक नै रह्यो।
पोखराबाट एनपिएलका ७ वटै खेल खेलेका माइकल लीस्कले कुल ४४ रन बनाउँदा बलिङतर्फ तीन विकेट हात पारे। वेष्ट इन्डिजका रेमन रेफरको पनि एनपिएलमा प्रदर्शन सन्तोषजनक नै रह्यो। पोखराबाट लिग चरणका सबै खेल खेलेका उनले कूल १४६ रन बनाए भने ५ विकेट आफ्नो नाममा दर्ता गरे।
अमेरिकाका एन्ड्रिज गौसले पोखराबाट ६ खेल खेले। ६ खेलबाट उनले कूल दुई सय २४ रन बनाए। उनले एक शतक पनि प्रहार गरे। ४ खेल खेलका इंग्ल्याण्डका म्याट क्रिचलेले कुल ३२ रन बनाउँदा एक विकेट आफ्नो नाममा दर्ता गरे। इंग्ल्याण्ड जेन मलिकले दुई खेलबाट १४ रन जोड्दा नेदरल्याण्डका बास डे लिडले एक खेलबाट दुई विकेट आफ्नो नाममा दर्ता गरे।
चल्नै नसकेका स्वदेशी खेलाडी
पोखराबाट एनपिएल खेलेका केही स्वदेशी खेलाडीको प्रदर्शन मध्यम रहे पनि केही खेलाडी भने चल्नै सकेनन्। आशा लाग्दा केही खेलाडीले निराशाजनक प्रदर्शन गर्न गरे। पोखराबाट खेलेका दिनेश खरेलको प्रदर्शन भने प्रशंसनीय नै रह्यो। उनले ७ खेलबाट एक सय ६२ रन बनाए। साथै, एक विकेट पनि आफ्नो नाममा दर्ता गराए। यस्तै, ७ वटै खेल खेलेका विपीन खत्रीले कुल २४ रन बनाउँदै ९ विकेट पनि लिए।
पोखराबाटै ७ खेल खेलेका सागर ढकालले कूल २ रन बनाए भने ५ विकेट पनि लिए। दिलीपनाथ र नारायण जोशी पोखराबाट ६/६ खेल खेले। दिलीपले ६ खेलबाट ४६ रन बनाए भने जोशीले ३८ रन बनाए।
पोखराबाट ४ वटा खेल खेलेका आकाश चन्दले एक रन मात्रै बनाउँदा तीन खेल खेलेका किरण ठगुन्नाले ३३ रन बनाउन सफल भए।
पोखराबाट एक खेल खेलेका आर्कषित गोमेलले ८ रन जोड्दा एक खेल खेलेका त्रितराज दास र सुदीप अर्यालले एक रन पनि जोड्न सकेनन्।


