पेरिस- फ्रान्सको मेयोट क्षेत्रमा आएको ‘चिडो’नामक आँधीका कारण सयौँ मानिसको मृत्यु भएको अनुमान गरिएको छ।
आँधीका कारण खानेपानी र खानेकुराको अभाव हुँदा मानिसहरूको मृत्यु हुन थालेको एक सांसदले बीबीसीलाई बताएका छन्।
हावाहुरीले धेरैको घर ध्वस्त भएको छ। त्यहाँका अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने चेतावनी दिइरहेका छन्।
चक्रवात चिडो मेयोट क्षेत्रमा २२५ किलोमिटर घण्टा (१४० माइल प्रतिघण्टा)को गतिमा हावा चलेको थियो। यसले असहाय मानिसहरू टिनको छाना भएको बस्तीमा सबैभन्दा बढी ध्वस्त बनाएको छ।
उक्त क्षेत्रका एक स्थानीय मामुदजोउले बीबीसीलाई भनेका छन्, ‘हामीले तीन दिनदेखि पानी पाएका छैनौं।’
अर्का एक व्यक्तिका अनुसार छिमेकीहरूले खान पाएका छैनन्।
भग्नावशेषबाट शव निकाल्न अझै केही दिन लाग्ने
उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। उनीहरूले उक्त क्षेत्रमा धेरै विनास भएकोले भग्नावशेषबाट शव निकाल्न केही दिन लाग्ने बताएका छन्।
चक्रवातले विमानस्थल, ध्वस्त क्षेत्र र विद्युत आपूर्ति अवरुद्ध लगायतका सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
फ्रान्सले ९० वर्षपछि देख्यो यस्तो विनाश
फ्रान्सेली टिभी च्यानल मायोट लोइरेको रिपोर्टअनुसार यो ९० वर्षमा आएको सबैभन्दा बढी क्षति पुर्याएको आँधी हो।
यद्यपि कति व्यक्तिको मृत्यु भएको भन्नेबारे यकिन विवरण सार्वजनिक भएको छैन। फ्रान्सको गृह मन्त्रालयले आइतबार कम्तीमा ११ जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको पुष्टि गरेको थियो। तर उक्त संख्यामा अहिले उल्लेख्य भइरहेको बताइएको भएपनि यकिन तथ्यांक उपलब्ध छैन।
अफ्रिकाको तटमा दक्षिणपूर्वी हिन्द महासागरमा अवस्थित मायोट, फ्रान्सको सबैभन्दा गरीब टापु क्षेत्र र युरोपेली संघको सबैभन्दा गरीब क्षेत्र हो।


