काठमाडौँ- रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियनर यस वर्षको फिफा वर्ष खेलाडी बनेका छन्। मंगलबार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड भिनिसियसलाई प्रदान गरिएको हो।
विवादास्पद रूपमा बेलन डे’अर अवार्ड जित्न असफल रहेको दुई महिनापछि २४ वर्षीय भिनिसियस वर्ष खेलाडीको उपाधि चुमेका हुन्। म्यानचेस्टर सिटीका रोड्रीले बेलन डे’अर जितेका थिए। रियल र भिनिसियसले त्यो कार्यक्रम नै बहिस्कार गरेका थिए।
‘सबैलाई धेरै धन्यवाद। म निकै गरिब परिवारमा हुर्केको हुँ,’ अवार्ड पाएपछि ब्राजिली खेलाडी भिनिसियसले भने, ‘मेरो समाजमा हिंसा अत्यधिक थियो। त्यस्तो परिस्थितिबाट अगाडि आएका सबैलाई यो अवार्ड समर्पित गर्न चाहन्छु।’
अर्जेन्टिनाका लियोनल मेसीले यसअघिका दुई संस्करणका फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए।
गत सिजनमा भिनिसियसले रियलका लागि सबै प्रतियोगिताका ३९ खेलमा २४ गोल गरेका थिए। यस्तै ११ गोल गराउन उनले सहयोगीको भूमिका निभाए।
भिनिसियसले रियलका लागि स्पेनी ला लिगा र युरोपली च्याम्पियन्स लिग पनि जिताउन भूमिका निभाएका थिए।
महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले उत्कृष्ट खेलाडीको अवार्ड जितिन्। २६ वर्षीया बोनमतीले लगातार दोस्रो वर्ष यो अवार्ड प्राप्त गरेकी हुन्।
म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी फरवार्ड एलेजान्ड्रो गारन्चोले उत्कृष्ट गोलकर्ताको अवार्ड जिते।


