एजेन्सी – प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहामले इएफएल कपको सेमिफाइनलमा स्थान बनाएको छ।
गएराति भएको खेलमा टोटनहामले युनाइटेडलाई ४-३ गोलअन्तरले पराजित गरेको हो। ३-० ले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले खेल बराबरी गरे पनि हार टार्न भने सकेन।
घरेलु मैदानमा टोटनहामका डोमिनिक सोलान्केले खेलको १५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि डोजान कुलुस्भेकीले ४६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। फेरि सोलान्केले ५४ औं मिनेटमा गोल गर्दै खेल ३-० को अवस्थामा पुर्याएका थिए।
तर युनाइटेडका जोसुवा जिर्केजीले ६३ औं मिनेटमा गोल गरे, ७० औं मिनेटमा अमद डियालोले गोल गर्दा युनाइटेड ३-२ को अवस्था थियो। तर टोटनहामका दक्षिण कोरियाली स्ट्राइकर सन ह्युङ मिनले ८८ औं मिनेटमा गोल गर्दै खेल ४-२ को अवस्थामा लगे। तर ९४ औं मिनेटमा जोनी इभान्सले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास भने गरेका थिए।
त्यस्तै गएराति नै भएको अन्य खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ गोलअन्तरले, लिभरपुलले साउथ ह्याम्पटनलाई २-१ ले र न्युक्यासलले ब्रेन्टफोर्डलाई ३-१ गोलअन्तरले पराजित गरेका थिए।
