एजेन्सी – अफ्रिकी देश युगान्डामा डिंगा डिंगा नामक भाइरसबाट तीन सयभन्दा बढी मानिस संक्रमित भएका छन्। तीमध्ये अधिकांश महिला र बालिका छन्। यो रहस्यमय रोगको सबैभन्दा ठूलो प्रभाव युगान्डाको बुन्डिबाग्यो जिल्लामा देखिएको छ।
समाचार एजेन्सी मनिटरका अनुसार जब बिरामी यो भाइरसबाट संक्रमित हुन्छ, तब उसको शरीर काँप्न थाल्छ। यो कम्पन यति तीव्र छ कि बिरामी नाचिरहेको जस्तो देखिन्छ। यदि संक्रमण गम्भीर छ भने, बिरामीलाई पक्षाघात पनि हुन सक्छ।
बुन्डिबाग्यो जिल्ला स्वास्थ्य अधिकारी कियिता क्रिस्टोफरका अनुसार यो भाइरस सन् २०२३ मा पहिलो पटक भेटिएको हो । त्यसयता युगाण्डा सरकारले यसबारे अनुसन्धान गरिरहेको छ।
युगाण्डाको स्वास्थ्य विभागले डिंगा डिंगा भाइरसका कारण मृत्यु हुनेको बारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन। विभागले समयमै औषधि खान आग्रह गरेको छ। संक्रमित व्यक्तिहरूलाई सरकारी अस्पताल बुन्डिबाग्योमा भर्ना गरिएको छ।
रिपोर्टका अनुसार अहिलेसम्म यो रोगबाट बच्न कुनै खोप बनेको छैन। संक्रमितलाई एन्टिबायोटिक दिएर उपचार भइरहेको स्वास्थ्य अधिकारी कियिताले बताए। यसबाट निको हुन करिब एक साता लाग्ने उनले बताए। कियिताले जडिबुटी औषधिलाई भाइरसको उपचारमा प्रभावकारी नभएको भन्दै परीक्षण र उपचारका लागि अस्पताल आउन आग्रह गरेका छन्।


