काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
एनपीएलको पहिलो संस्करणको खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे शुरु हुनेछ।
जनकपुरमाथि जित निकाल्दै सुदूरपश्चिम फाइनलमा आइपुगेको थियो। उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच दुईपटक प्रतिस्पर्धा भएको थियो। दुवै खेलमा सुदूरपश्चिम विजयी भएको थियो। सुदूरपश्चिमले जारी एनपिएलमा मात्र १ खेलमा पराजय भोगेको छ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा जनकपुरलाई नलिने बताएका छन्। साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताए।
जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरे। उनले पछिल्ला खेलमा राम्रो ब्याटिङ गर्न नसके पनि फाइनलमा राम्रो खेल्ने आशा व्यक्त गरे।


