एजेन्सी – भारतीय पूर्वक्रिकेटर रोबिन उथप्पाविरुद्ध शनिबार पक्राउ पुर्जी जारी भएको छ।
रिपोर्टका अनुसार, रोबिन कपडा उत्पादन गर्ने कम्पनी सेन्चुरिज लाइफ स्टाइल ब्रान्ड प्रालिका साझेदार र प्रबन्धक हुन्। कम्पनीका कर्मचारीको तलबबाट पीएफ काटिए पनि खातामा जम्मा नगरेको उनीमाथि आरोप छ।
बेंगलुरु क्षेत्रीय ईपीएफओ आयुक्त शदाक्षरी गोपाल रेड्डीले डिसेम्बर ४ मा रोबिन उथप्पालाई लगभग २३ लाख रुपैयाँ जम्मा गर्न वारेन्ट जारी गरेका थिए। वारेन्ट लिन पुलकेशीनगर प्रहरी चौकी पुग्दा रबिन घरमा भेटिएका थिएनन्।
उनी परिवारसँग दुबईमा रहेको बताइएको छ। रिपोर्टका अनुसार डिसेम्बर २७ सम्ममा रकम जम्मा नगरे रोबिन पक्राउ पर्न सक्नेछन्।
भारतले सन् २००७ को विश्वकप जित्दा उथप्पा भारतीय टोलीका प्रमुख हिस्सा थिए।


