गलकोट – बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षका भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको पनि ४ वर्ष भयो।
सुरुमा चार वटा गाई र दुई वटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका उनले सुरुका दुई वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किने। बागलुङ दुग्ध उत्पादक सहकारी संघसँग जोडिएपछि भने उनले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थालेका छन्।
उनको फार्ममा हाल पाँच वटा भैँसी र चारवटा गाई छन्। दैनिक ६० लिटर दूध उत्पादन हुन्छ। उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेका छन्। ढकालको फार्ममा हुर्कँदै गरेका चार वटा पाडी छन्।
दूध बेचेर मासिक एक लाख ३० हजार बढी आम्दानी गर्न थालेको उनले बताए। गत वर्ष मात्र १७ लाख रुपैयाँ बढी आम्दानी भएको उनले जानकारी दिए। दूधमात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ। प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गरेको उनले बताए। स्याहारसुसार राम्रोसँग गरे थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएका छन्। प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उनको भनाइ छ।
पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आएकी छन्। परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि व्यावसायिक पशुपालन सम्भव भएको उनी बताउँछन्।


