काठमाडौँ : प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ।
सहकारी ठगी प्रकरणमा लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन्। जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
उक्त प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ।
सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै २०८१ पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो।
चार दिनको म्याद पुस ५ गते शुक्रबार सकिए पनि पुस ६ गते शनिबार सार्वजनिक बिदा भएकाले पुस ७ गते आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो।


