काठमाडौँ – गएराति इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटनहाममाथि ६-३ गोलअन्तरको जित निकाल्दै शीर्ष स्थानमा अंक दूरी बढाएको छ।
टोटनहामको घरेलु मैदानमा लिभरपुलको जितमा चार जनाले गोल गरे। लुइस डियाजले २३ र ८५ औं मिनेटमा गोल गरे भने म्याक अलिस्टरले ३६ औं मिनेटमा गोल गरे। त्यस्तै त्यस्तै डोमोनिकले ४५ औं मिनेटपछि थपिएको अतिरिक्त समयमा गोल गरे। मोहम्मद सलाहले ५४ र ६१ औं मिनेटमा गोल गर्दै जारी लिगमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहे। सलाहले जारी सिजनमा १५ गोल गरेका छन्।
१६ खेल खेलेको लिभरपुलको ३९ अंक भएको भने पराजित टोटनहाम ११ औं स्थानमा छ। उसले १७ खेलबाट मात्र २३ अंक बनाएको छ।
गएराति नै भएको अर्को खेलमा भने चेल्सी बराबरीमा रोकिएको छ। अघिल्लो सिजनभन्दा सुधारात्मक खेल देखाइरहेको चेल्सी एभर्टनसँग बराबरीमा रोकिएको हो। बराबरी पछि पनि चेल्सी लिग तालिकाको दोस्रो स्थानमा यथावत् छ।


