एजेन्सी – ताइवानलाई प्राप्त नयाँ अमेरिकी सैन्य सहायताप्रति चीनले कडा प्रतिक्रिया दिएको छ। चीनले यसलाई अमेरिकाको ‘एक चीन’ सिद्धान्तको विरुद्ध रहेको भन्दै अमेरिका आगोसँग खेलिरहेको चेतावनी दिएको हो।
यस विषयमा चीनको विदेश मन्त्रालय र ताइवान मामिलासँग सम्बन्धित कार्यालयले ताइवानलाई अमेरिकी सहयोगको प्रतिक्रिया दिएको छ।
अमेरिकाले शुक्रबार ताइवानलाई ५७१.३ मिलियन डलरको नयाँ सैन्य सहायता घोषणा गरेको छ र ताइवानलाई २९ करोड ५० लाख डलरको हतियार बेच्न पनि स्वीकृति दिएको छ।
यसबारे चिनियाँ विदेश मन्त्रालय र राज्य परिषद्को ताइवान मामिला कार्यालयले आइतबार अमेरिकाको आलोचना गरेको छ। चीनको रक्षा मन्त्रालयले पनि ताइवानलाई हतियार बिक्री र आर्थिक सहायताको निन्दा गरेको छ।
अमेरिकी रक्षा मन्त्रालयले चीनको सैन्य सुरक्षा विस्तारको प्रतिवेदन प्रस्तुत गरेको छ। यसको जवाफमा शनिबार चीनले ताइवानको मामिलामा अमेरिकाको कदमको आलोचना गरेको छ।
चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता सु फेंग्लियनले आइतबार अमेरिकाले ताइवानलाई कुनै पनि रूपमा हतियार उपलब्ध गराउने कुरामा चीन पूर्ण रूपमा विपक्षमा रहेको बताए।
तर, अमेरिकाले ताइवानलाई हतियार बेचेको यो पहिलो पटक भने होइन। अमेरिकाले विगतमा पनि ताइवानलाई हतियार दिँदै आएको छ।
